Friday, October 17, 2014

फोटो ब्लग २ : तारुका - ८ , आँखातरे

भावनामा बहकिएर यो फोटो ब्लगको शिर्षक “मेरो प्यारो तारुका” राखम झैँ लाथ्यो तर त्यो चाहना पलाएको केहि मिनेट हुन नपाउँदै मैले तुरुन्त त्यसो गर्दा ती शब्दहरुले न्याय नपाउने ठाने I

 सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मथलो ओखलढुंगा छाडेर जान पर्दा आफ्नो मातृथलो प्रति समर्पण गर्दै सम्झनाका कुइनेटाहरुले भरिएका “मेरो प्यारो ओखलढुंगा” कविता लेखे I तारुका मेरो नि जन्मथलो हो तर म बच्चै छंदा मेरो बुवा आमा संग पहिले रशुवा र त्यस पछी काठमान्डू आइपुगें I अहिले हाम्रो परिवार काठमान्डूमा दुखजिलो गरेर एउटा सानो झुपडी बनाएर काठमान्डूमै बस्ने गरेको छ Iत्यसैले त बेला मौकाँ आफ्नो जन्मथलो तारुका जहाँको मूल घरभित्रको (जुन अहिले पनी छ) अगेनाको छेउ मेरो नाल गाडिएको छ रे, आएको बेलाँ म यसरी भाबुक हुने गर्छु I तर यो खोक्रो भावुकता हो I हुनत अहिले सम्म पनि कसैले मलाई आफ्नो स्थायी ठेगाना सोध्दा तारुका नुवाकोट नै भन्ने गर्छु तर के तेत्ति हो मेरो जन्मथलो प्रतिको मेरो कर्तब्य ?
मैले चाहेर पनी मेरो गाऊंलाई केहि गर्न सक्ने अवस्थामा छैन I न म महेन्द्र राजाको जस्तो गाऊँ फर्क अभियान जस्तो कार्यक्रम ल्याउन सक्छु , न त बसाईं सरेर गएका मान्छेहरुलाई गाउँ फिर्ता लेराउने बाताबरण बनाउने सक्ने हैसियत राख्छु , न त म फुस्रो गाउँको बाटो पिच गर्न सक्छु न त आर्थिक सहयोग गरेर गाउँका हेल्थ पोस्ट र बिद्यालयलाई सुबिधायुक्त बनाउन सक्छु र भबिस्यमा कथम कदाचित म त्यसो गर्न सक्षम भएछु भने पनि त्यति बेला सम्म मेरो गाउँ रित्तिसकेको हुनेछ कि भन्ने डर लाग्छI

गाउँ नांगिएको छ I कुनै बेला मानबिय बस्तीले चहल पहल हुने ठाउँ अहिले मसानघाट भन्दा बेसी सुनसान छ I गाउँमा मानिसहरुभन्दा बेसी चौपायाहरु डुलेको देखिन्छन I बाटाहरुमा मान्छेहरुका हिडेका पाइलाहरु पातलीएका छन I पँधेरामा मूल टालिएको छ , चौताराहरु सुनसान छन , चौताराहरुका ढुंगामा कुंदीएका बाघचालका धर्साहरुमा लेउ लागेका छन I धमिरा लाएर भाचिन आटेका काठहरु जस्ता बुडा बुडीहरुको जमात छ I भत्केका घरका अबसेशहरु छन I कैयौं घरहरु भत्किने योजनामा छन I घरबारी किन्दिने मान्छे पाए आजै काठमान्डू जान्थे बरु मागेर भएनी बस्ते भन्ने जमात पनि छन I कोहि चितवन बसाई गएका छन सुख खोज्दै भने कोहि काठमान्डू पस्ने दाउ गर्दै छन् सुबिस्ता खोज्दै I  कैयौं मुरी उब्जनी हुने खेतहरु मानव शक्तिको अभावमा बाँझा भएका छन I गाउँमा बाँदर लखेट्ने मान्छे छैनन् I बाँदरहरु पनि कुप्रिएर लठ्ठी टेकेर आएका बुढा पाकालाई त उल्टै झम्टिदा रेछ्न I धेरैका छोरा नाती भारत पसेका छन मजदुरीको लागी र थोरैका कोरिया , मलेसिया र खाडी मुलुक पसेका छन I आमा बाबा बाट टाढिने उनीहरुको पनि पक्कै रहर थिएन होला तर सबैलाई आ आफ्नै बाध्यता प्रिय लाग्छन I उनीहरुको बाध्यता उनीहरुले नै बुझेका होलान I

आफ्नो गाउँठाउँको सम्झना स्वरूप मैले यो फोटो ब्लग बनाएको हुँI  यहाँ रहेका फोटो सबै मेरा हैनन् I आदरणीय दाजु मुकुन्द खतिवडा र भाई मन्देश खतिवडाबाट अनुमति लिएर यो फोटोहरुको प्रयोग गरेको हुँ I दुबै जाना प्रति म निकै आभार प्रकट गर्न चाहान्छु I























































No comments:

Post a Comment