Sunday, October 27, 2013

किड्नी....


भित्ते घडीमा साँढे दुई बजेको रहेछ । नाडी घडीमा चार ।
कुन घडी बिग्रेको हो भन्ने छुट्टाउने सामर्थ्य म मा थिएन ।

पिसाब च्यापेर बिउँझीएको रहेछु । ट्वाइलेट जानलाई अन्धकार थियो ,बत्तिको स्विच भेटाउन सकिरहेको थिईन । खुट्टा हिड्दा काँपेको जस्तो भैरहेको थियो । ट्वाइलेट नपुग्दै आदी जति मुत मेरो कट्टु छेडेर पैताला तिर आइसकेको रहेछ । बाँकी मुत बेसिनमा पोखेर फर्किए खाट तीर । सुतें केहि जेल , कति भनेर याद छैन ।

दोश्रो ब्युँझाईमा, मुतको गन्ध मेरो नाकमा आएर ठोकियो । उज्यालो भैसकेको रहेछ । भित्ते घडीमा साँढे दुई र नाडी घडीमा आठ बजेको रहेछ । नाडीमा घडीको डाम बसेको रहेछ । “ए ! भित्ते घडीमा ब्याट्री सकिएछ” भन्ने चेताना भयो तर ज्यान भारी भएकोले ब्याट्री फेर्ने चेस्टा गरिन ।

खाटको डस्ना पल्टाएर चुरोट र प्लास्टिकको पोको झिकालेर कुर्सीमा राखे । दुई स्टिक बनाएर ट्वाइलेट छिरे । एक स्टिक भ्याउन लाग्दा मलाई अलि अलि गर्दै हिजो रातको परिदृश्यको याद हुन थाल्यो । म त हिजो ठुलो किस्मतले बाचेको मान्छे । पुलिसले समाको भए आज म जेलमा हुने थिएँ । धन्न भागेर घर आइपुगे । दोश्रो स्टिक नि सकाएर बाहिर निस्के ।

माथी किचेनमा गएर चिया खान लाग्दा सबैले मलाई प्यालाक पुलुक हेरे । त्यो हेराइमा कुनै अनौठोपन थिएन ,त्यो दैनिकी जस्तै थियो । चिया सकाएर जक्सन तिर लागे । हिजो संगै भागेका हामी चार जना मध्य म एक्लै त्याँ अरुलाई कुरिरहेको थिएँ ।

आधी घण्टा सम्म नि कोही नआएसी फर्किनै लाग्दा भोटे श्यामलाई आफूतिर कुध्दै आएको देख्छु । श्यामले लंगड़े र हाफ लाटो दुबै स्वयम्भु जेल परेको कुरा सुनाउछ र पुलिसहरु यो स्थानमा जति खेर नि आउन सक्ने कुरो गर्छ ।

म , आफ्नै घरमा लुकेर बसेको छु । एक, दुइ ...भन्दै दिनका गन्तीहरु लम्बिन थाल्छन । बिस्तारै मेरा डोजहरु सिद्धिन थाल्छन । 

पानी सुक्दै गएको पोखरीको माछालाइ जस्तो मलाई छटपटाहटले डस्न थाल्छन । कहिले सद्धे घाँटी कसिएको जस्तो भएर बेश्मारी खोक्छु । पिडा मर्दैन । ऐना हेर्दा अनुहार पाकेको गोलभेंडा भन्दा बेसी रातो भाछ । खाटको डस्ना पल्टाएर हेर्छु , केहि पाइने आशमा । पशिना पुछ्दा पुछ्दै रुमाल निथ्रुक्क भिजिसकेको छ । हराको होश हवाश अझै हराउदै छ ।

अन्तिम अवस्था आए पछी म नभएको बल लिएर बाहिर निस्किन्छु ठुलो लक्ष्य सहित । म हिडीरहेको छु वा घिस्रीरहेको छु ? त्यो मलाई थाहा छैन । मेरो जिन्दगीको एक मात्र लक्ष्य त्यस बखत मैले चाहेको बस्तु भेट्टाउनु थियो ।

डिलर संग मेरो भेट हुन्छ । म संग भएको पैसा , घर बाट चोरेको गहना , आफ्नो औंठी दिएर म ऊ सामु भिक माग्छु । तर डिलर, प्रहरी गतिबिधी धेरै बढेकाले माल एक मुष्टमा पाए मात्र बेच्ने कुरो गर्छ । म माथी बज्रपात पर्छ । म मेरो जीवनको अन्त देख्न थाल्छु । त्यो भर्खरै सुनेको बचन मिथ्या होइदियोस जस्तो लाग्छ तर यथार्थ त्यही नै थियो र रह्यो । हात जोड्छु , पाउ पर्छु , अरु आश्वाशन दिन्छु तर सबै निरर्थक ।

तब म केहि बेर अगाडी मरिसकेको आफ्नै गरुङ्गो शरीर बोकेर त्यहाँ बाट फर्किन्छु । मलाइ मेरो मनले गिज्ज्याई रहेको थियो । तर म लाचार भएर जीवन धकाल्दै थिए । अब त मृत्यु नै सबै भन्दा मिठो औसधी जस्तो लाग्न थाल्यो मलाई । मिठो मृत्यु विचार कल्पिदै अगाडी बढिरहेको म र पछाडी हटिरहेको तुच्छ जीवनको फरक बुझ्न चाहिन मैले ।

यत्तिकैमा मलाई कसैले बोलाउछ र मेरो समस्या बुझेको जसरी पैसा दिने आश्वासन दिन्छ र बदलामा मेरो किड्नी माग्छ । म केहि नसोची ‘हुन्छ’ भनिदिन्छु ,खुसि हुँदै । सोच्न नै किन पर्यो र किनकी त्यो नै मेरो जीवनको लक्ष्य थियो त्यस बखत र अहिले सम्म पनि ।
   

2 comments:

  1. कुनै प्रख्यात लेखकको पुस्तक खरर्र पल्टाउंदा बिचतिर रोकिएर पढेको भान भयो

    ReplyDelete
  2. धन्यबाद तर म यो तारिफ ग्रहण गर्न लायक छू , छैन .. त्यों मलाई थाहा छैन

    ReplyDelete