Wednesday, January 1, 2014

कुकुर,धनी अनि गरिब

जाबो एउटा नाथे
गुहु खाने
कुकुर जस्तो पशुले
"धनी" र "गरिब" कसरि छुट्टयाउँछ ?
सायद गन्धले
नत्र किन ?


त्यो पाजी कुकुर 
एउटा सर्ट पेन्ट लाएको 
बास्नादार अत्तर छर्केको "धनी" 
गाडीको चाबी हल्लाउदै 
उसको सामु आउँदा
पुच्छर लुत्रुक्क झारेर
अभिवादन किन टक्र्याऊंछ ?
दाश जस्तो किन बन्छ ?
गाली गर्दा
लौरोले पिट्दानि नभागेर
अबोध बालकझैं रुँदै
गुहार माग्दै 
मालिकको छेउमै किन बसिरहन्छ ?
दयाको भिक् किन मागिरहन्छ ?
माफीका आवाज किन निकालिरहन्छ ?
मालिकको गुलामी किन गरिरहन्छ ?
उठ् भन्दा उठ्ने
बस् भन्दा बस्ने
हात दे भन्दा दिने
किन गरिरहन्छ ?
मानौं त्यहाँ उसको
एउटा चटक गराईदैछ
खेलौना बनाइदैछ उसलाई
तर ऊ मालिकको सेवा गर्न पाउँदा
खुसी महसुस गर्छ
आफ्नो चटकले मालिक
खुसि भएको देख्न चाहन्छ
आफ्नो स्वाभिमान बन्दकी राख्दै 
हरक्षण कसरी मालिक खुसि पार्न सकिन्छ
भन्ने जुक्ति सोचीरहन्छ
किन कि
उसलाई थाहा छ
यदि मालिकलाई रिझाउन सक्यो भने
उसले स्याबासी पाउनेछ
दयाको थुक चाट्न पाउनेछ
अनि बासी बिस्कुट
र पाउरोटीको टुक्राले
आफ्नो गुहु खाने मुख फेर्न पाउनेछ...


तर

जब एउटा
दश ठाउमा भ्वांग परेको लुगाले सजिएको 
अभाव , भोक र पीडाले रन्थनिएको 
फोहोरमा पौडी खेलेर निस्किएको "गरिब"   
जसको निधारमा
"गरिब" लेखिएको हुदैन
उसको बाटो हुँदै जान खोज्छ
ऊ भुक्न बिर्सिएर
अब गर्जिन थाल्छ
त्यही अघिको कुकुर
अब दारा उद्याउन थाल्छ
अघिको त्यो लाचार कुकुर
अब डीठ्ठा बनि टोपलिन्छ 
त्यस ठाउँमा आफ्नो हैकम लाद्न खोज्छ
अझ
कम्जोर , निहत्था गरिब देख्दा
अघि उद्द्याको दाराले
घृणाको बिखहरु खोपीदिन्छ
अरु सहपाठी मित्र बटुलेर
सामुहिक रुपमा गरिबीको खिसी गर्छ
अब ऊ चटक मालिक बन्छ
त्यही लाचार कुकुर जुन अघि
आफै चटक देखाउन विवश थियो
अब गरिबलाई
चटक देखाउन ठाडो हुकुम दिन्छ
र गरिबलाई विवश तुल्याउछ
सम्झी सम्झी
आफुलाई धनीले गरेको व्यवहार
गरिबमा लाद्न खोज्छ
अघि बन्धकी राखेको स्वाभिमानको 
साहु र ब्याज खोज्न थाल्छ 
उसका भुकाईहरुमा
"किन मेरो जमिन टेकिस"
"किन मेरो भाग खान जन्मिस"
जस्ता आशयहरु दोहोरिरहन्छन

अन्तत उसको भुकाईको गर्ज्याई
त्यस बेला अन्त्य हुन्छ 
जब त्यो गरिब उसका चिप्रे आँखाका 
नजरबाट लखेटिन्छन 
टाढा , धेरै टाढा ..


गुहु खाने कुकुरले बर्गविभाजन गर्ने मेरो समाजमा 
अन्न खाएर विवेकशील मानिएको मान्छे 
नि यदि पशु कै शिको गर्छन भने 
किन मानिस भएको बहानामा रमाउछौ ?
जाउ गएर कुकुर संग मित लाउ !
नभए रोक , रोक्ने प्रयास गर !
मान्छे  भएर !

No comments:

Post a Comment