Friday, December 13, 2013

अतृप्त ...



कमिला जस्ता किराहरु अनुहारतिर सल्बलाउन थालेपछी म झल्याँस्स ब्युँझिए |
ब्युँझिदा घामको किरण अकस्मात मेरो आँखालाई झम्टन आईपुगेको रहेछ | हत्तनपत्त हत्केला अगाडी सार्न खोज्दा मेरो हात मेरै आदेश मान्न तयार भैरहेको थिएन |

मेरो हात खुट्टा डोरीले बाँधीएको रहेछ | दाँतको सहायताले पहिले हातको डोरी चुडाऊँछु र सोही हातको मद्धतले खुट्टालाई पनि डोरीबाट मुक्ति दिलाउँछु | अनि म बिस्तारै उठ्ने प्रयास गर्छु | तर त्यो प्रयास प्रयासमै सिमित हुन्छ | म उठ्न जान्दिन | म मेरो आफ्नै वजन थाम्न नसक्ने अवस्थामा रहेछु |

कहाँ बाट यहाँ आइपुगे ? कसले ल्याएर फाल्यो मलाई यहाँ ? बल्ल दिमागले सोच्ने फुर्सद पाउँछ | म को हुँ ? मेरो ठेगाना कहाँ हो ? यस्तो प्रश्न तेर्साउँछु आफ्नै दिमाग संग तर दिमाग कुनै उत्तर फर्काउदैन | ऊ निठुरी भई चुप लागेर मेरो घाऊमा नुनचुक छरे जस्तो लाग्छ |

शरीर तिर नियाल्छु | लुगाहरु फाटेका छन् | फाटेको लुगा भित्र निला डाम टल्कीरहेकाछन् | घाम तिर खुट्टा तेर्साउँछु | खुट्टा भरि सुकेका घाउका टाटा देखिन्छन भने हातमा पनि सुकेको रगतको टाटा छरपष्ट छन् |

सिंगान हत्केलाले पुछ्दै अघिका जिज्ञासा सोच्दै टोलाऊँछु | तर कुनै जिज्ञासाका उत्तर पलाउँदैनन् | फेरी उठ्न खोज्छु तर फेरी अर्को प्रयास खेर जान्छु | मलाई कसैले पिटेर यहाँ फालेको अनुमान दिमागमा उफ्रिन थाल्छ | घाऊ कोट्ट्याऊँदै दिमागमा जन्मेको अनुमानलाई ढाडस प्रदान गर्छु |

शरीरबाट जन्मिरहेको नमिठो गन्ध उम्लिदै नाकको पोरा छेड्दै छ | मुख भित्र अमिलो थुक पौडी खेल्दै छ | झिंगाहरू मेरो वरिपरी खेल्दै छन् | झिंगाहरु त्यो आलो घाउमा आऊँदै निरिक्षण गर्दै जाँदै मलाई जिस्क्याईरहेका छन् | झिंगा बारम्बार धपाईरहने बल ममा थिएन | त्यसबेला झिंगा भन्दा म धेरै लाचार र निहत्था भइरहेको थिएँ |

आफु भन्दा करिब दश मिटर जति पर एउटा कुकुर निहूँरिदै पानी चाटिरहेको देख्छु | प्यासले डसिरहेको कारणले म सकी नसकी कुकुर भए तिर घस्रिन विवश हुन्छु | त्यहाँ पानी नै होस् भन्ने लोभ मनमा पलाऊँछ | कष्टपूर्ण घस्र्याई पश्चात लक्ष्य मेरो सामु आईपुग्छ | तर त्यहाँ न त पानी हुन्छ न त त्यो लोभी कुकुर नै | माटो छाम्छु , ओशिलो हुन्छ | त्यहि ओशिलो माटो मुखमा राखेर चपाउन थाल्छु | तर केही समयमै उल्टी आउला जस्तो भएसी माटो ओकाल्न मन नलाई नलाई थुक्न विवश हुन्छु |

अब मलाई तिर्खाले सहि नसक्नु पाराले चिथोर्न थाल्छ | दिउसै रात परेको भान हुन्छ | मेरा ओठ मुख सुक्न थाल्छन् | आँखाबाट आँसु झर्न थाल्छन् | प्यास मेट्न आँसुको पनि सहारा लिन्छु | तर त्यो अमर प्यास मर्ने नाम लिईरहेको थिएन | धेरै आँसु आउला कि भनेर आँखा चिथोर्छु | प्यासले मेरो घाँटी निमोठ्ने गति बढाईरहेको थियो | म लम्पसार परेर जमिनमा सुत्दै चिच्याउँछु | तर प्यासले अधिपत्य जमाएको घाँटीबाट पर्याप्त आवाज निस्कन नदिएकोले धित मारेर चिच्याउन पनि पाईरहेको थिईन |

मुटुको धड्कन आकासिदैछ | म त्यो बेला पानी श्रोत बाहेक केही देख्न चाहादैन थिएँ | आँखा डुलाउदै गर्दा करिब बिस पच्चीस मिटर पर फेरी अघिको जस्तै रंगको कुकुर अघि जस्तै निहुरिरहेको देख्छु | तर यस पटक पानी नै पिईरहेको हो, होइन छुट्टयाउन सक्दिन | तर मेरो भौतिक शरीर मलाई नै नसोधी सोही ठाउँ तर्फ घस्रिन तत्पर हुन्छ |

तर यस पटकको घस्रयाईमा मिसिएको जोश र जाँगर अघिको भन्दा कैयौं गुणा बडी हुन्छ | ...............................................................................................................................................  

No comments:

Post a Comment